कमरेड सिताराम येचुरीलाई श्रद्धाञ्जली दिन र उहाँप्रति सम्मान व्यक्त गर्न यो कार्यक्रमको आयोजना गर्नुभएकोमा साउथ एसिया फाउण्डेशन नेपाल र राहुल बरुवाजी लाई धेरै धेरै धन्यवाद छ । सबैभन्दा पहिले म मेरा, हाम्रो पार्टीका, नेपालका तथा नेपालको लोकतान्त्रिक आन्दोलन समेतका अनन्य मित्र कमरेड सिताराम येचुरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
समय कम छ कुरा धेरै छन् । पूर्ववक्ताज्यूहरुबाट कतिपय कुराहरु आए ती सबै पूर्ण सत्य छैनन् । त्यसको ज्यूँदो साक्षी म आफै छु । तर, घटनाहरु घटेका छन्, त्यसमा यहाँ व्यक्त गर्दा कुराहरु अलिक तल माथि भएका छन् । सन्दर्भ धेरै आइसकेपछि उठेका कुराहरुको सन्दर्भमा अलिकति म जोडिहाल्छु । म १९६७ मा एस एल सी पास गरिसकेपछि १९६८ मा भारतको सितामडी स्थित गोयंका कलेजमा विज्ञान विषयको विद्यार्थी थिएँ । त्यो बेलामा भारतका नेता र अत्यन्तै प्रखर वक्ता अटल विहारी बाजपेयीको भाषण सुन्न हामी गएका थियौँ र एक प्रकारले म प्रभावित भएको थिएँ ।
तर, म त्यो भन्दा पहिले अर्थात २०२२ देखि नै वामपन्थी विचारबाट प्रभावित भैसकेको मानिस थिएँ । यहाँ प्रसङ्ग आयो भारतका पार्टीहरुसँगको सम्बन्धको । जब म २०२८ (१९७१)सालमा विराटनगरमा गएँ त्यसबेला भारतीय कम्युनिष्ट पार्टीको एउटा शाखा सि.पि.आई. (एम. एल.) पार्टीको महासचिव (नेता चारु मजुम्दारको निधन भइसकेपछि) कमरेड स्वदेश भट्टाचार्य र कमरेड जवाहर मेरो डेरामा आउनुहुन्थ्यो । कमरेड जवाहरको निधन भएपछि कमरेड विनोद मिश्र महासचिव बन्नुभयो र अहिले दिपंकर भट्टाचार्य हुनुहुन्छ । त्यसकारण भारतका पार्टीहरुमध्ये राजनीतिक सम्पर्क भएको पहिलो पार्टी नै सि.पि.आई. (एम. एल.) नै हो ।
१९९३ मा म र मदन भण्डारी कलकत्तामा भएको इन्टरनेशनल कन्फेरेन्समा जादाखेरी हरकिसनसिंह सुरजित सहित कमरेड सिताराम येचुरीसँग भेट भएको थियो । उक्त कन्फेरेन्समा संसारका धेरै कम्युनिष्ट पार्टीहरु आएका थिए । त्यसको विषय थियो २१ औं शताब्दीको समाजवाद कस्तो हुने ? यसबारेमा हामीले धेरै छलफल चलाएका थियौं । त्यही बेलादेखि नै हाम्रो सि.पि.आई. (एम) र यसका प्रमुख नेताहरुसँगको सम्बन्ध निरन्तर रहिआएको छ ।
\हाम्रो सम्बन्धलाई प्रगाढ बनाउन सि.पि.आई.(एम)का महासचिव हरकिसन सिंह सुरजितले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो । यसका धेरै प्रसङ्गहरु छन् जुन यो छोटो समयमा उल्लेख गर्न सकिन्न । एउटा घट्ना मात्र सुनाउँछु की महाकाली सन्धिको बिषयमा अध्ययन गर्न गएको हाम्रा पार्टीको डेलिगेशन (म, सि.पी. मैनाली र प्रेमसिंह धामी)का लागि उहाँले आफ्नै निवासमा भारत सरकारको सचिवलाई डकुमेन्ट सहित उपस्थित गराएर छलफल चलाईदिनुभएको थियो जुन छलफलका आधारमा महाकाली सम्बन्धी तात्कालिन समयको पार्लियामेन्टको निकै ठूलो विवादलाई एक ढंगले टुंगो लगाउने काम भएको थियो । हाम्रो सि.पि.आई. एम. सँगको सम्बन्ध पनि पुरानो नै हो ।
त्यसपछि सि.पि.आई.सँगको सम्बन्ध र सबै नेताहरुसँग सम्बन्ध रह्यो । म संझिरहेको छु म भारतमा विभिन्न सरकारी वा विभिन्न संस्थाहरुको निमन्त्रणामा जाँदा त्यहाँका प्रधानमन्त्रीहरु चन्द्रशेखर, वि.पि.सिंह, पि.वि.नरसिंह राव, इन्द्र कुमार गुजराल, एच.डी. देवेगौडा, अटल विहारी बाजपेयी, मनमोहन सिंहसँग मेरा भेटघाटहरु हुने गर्दथे । पछिल्ला समयमा विजेपीका राजनाथ सिंह, कँग्रेस आई नेतृ सोनिया गान्धी सँग भेटघाट हुने गर्दथे । तर, मूल कुरा सि.पि.आई., सि.पि.आई.(एम) र सि.पि.आई. (एम.एल.)सँगको सम्बन्ध निरन्तर र प्रगाढ रुपमा रहिरह्यो ।
मैले बुझेसम्म सुरजीतजी ले नै सिताराम जीलाई बढ्ता जिम्मेवारी दिने गर्नुहुन्थ्यो । सिताराम येचुरी नेपाल आउँदा मेरो निवासमा अनिवार्य जस्तै आउनुहुन्थ्यो । उहाँसँग प्रदिप गिरी पनि मेरो निवासमा आउनुहुन्थ्यो । डि.पि. त्रिपाठी पनि सिताराम येचुरी र प्रदिप गिरीसँग कैयन पटक मेरो निवासमा आउनुभएको छ । हामी नेपाल भारत सम्बन्धमा मात्र नभएर लोकतन्त्र र जनजीविकाका विविध बिषमा कुराकानी गर्दथ्यौं । उहाँहरु तीनै जना बीच अत्यन्तै नजिकको मित्रता, सामिप्यता र सानिध्यता रहेको थियो । उहाँहरु बेला बेलामा सँगै बसेर रमाइलो पनि गर्नुहुन्थ्यो ।
म उहाँहरुलाई मित्रवत रुपमा सहयोग गर्दथेँ । यसको अर्थ के हो भने हामी बीच निकटता, सौहार्दता, मित्रता र आत्मीयताको सम्बन्ध थियो । यसका अतिरिक्त बेला बेलामा वि.जे.पी.का नेता विजय जोली र कँग्रेस आईका नेताहरु पनि मेरो निवासमा आउने गर्नुभएको थियो । यस अर्थमा सिताराम जी मेरो अत्यन्तै निकटको मित्र यानेकी “कमरेड इन आर्मस्” हुनुहुन्थ्यो ।
धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा हामीहरु सँगसँगै सहभागी हुने गरेका थियौँ । म भारतमा त्यहाँको सरकारको निमन्त्रणामा जाँदा वा कुनै पार्टी विशेषको महाधिवेशनमा जाँदा वा जवाहरलाल नेहरुको जन्म शताब्दी मनाउन सोनिया गान्धीजीको निम्ता अनुरुप जाँदा पनि सिताराम येचुरी र सिपिआई (एम)का नेताहरुसँग भेटेर कुराकानी गरेर मात्र आएको संझिरहेको छु ।
कमरेड सिताराम येचुरीसँगकोे यस निकटताले पनि मलाई उहाँको निधनमा थप गम्भीर बनायो । उहाँको निधनको बेला म रुसको भ्लादिभोस्तोकबाट फर्केर नेपाल आई उदयपुर पुगेको थिएँ । त्यहाँ पार्टीको महाधिवेशनको सन्देश दिने सन्देशसभा र कोशी प्रदेशको बैठक थियो ।
जब मैले सिताराम येचुरीको निधन भएको खबर पाए त्यसपछि तीन दिनको लागि तय भएका कार्यक्रमहरुलाई एक दिनमै छोट्याएर राती ९ बजे काठमाडौं फर्केँ र एअरपोर्टबाट सिधै नयाँदिल्लीको जहाजमा जढेर उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन गएँ । नयाँदिल्लीमा सिपिआई (एम)का नेताहरुले हामीलाई रिसिभ गर्नुभयो र भोलीपल्ट पार्टी कार्यालयमा पुगेर उहाँको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिएँ ।
कमरेड येचुरीको ७२ बर्षको अल्पायुमै निधन भयो । उहाँ पढाईमा मेधावी विद्यार्थी, आन्दोलनको अगुवा, जेएनयूको विद्यार्थी यूनियनको अध्यक्ष भएको, पार्टीमा पनि अत्यन्तै कर्मठ र अगुवा, अध्ययनशील, राम्रो लेखन तथा खुवी भएको, क्षमतावान, वार्ता तथा संवाद गर्नसक्ने खुवी भएको, जुनसुकै पार्टीका नेताहरुसँग पनि संवाद कायम राख्नसक्ने, भारतका धेरै राजनीतिक तथा संसदीय संकटहरु समाधानका लागि भूमिका निर्वाह गर्नसक्ने हुनुहुन्थ्यो ।
एक पटक भारतको संसदमा कुनै पनि पार्टीको बहुमत नआउँदा विभिन्न व्यक्तिहरु पालैपालो प्रधानमन्त्री बन्ने अवसर आयो र एक पटक प्रधानमन्त्री बन्ने प्रस्ताव तात्कालिन भारतका कम्युनिष्ट नेता ज्योति बसुलाई समेत आयो । पार्टीमा रहेको परम्परागत सोंच र संख्याको हिसावले भारतको कम्युनिष्ट पार्टीले त्यसलाई स्वीकार त गरेन तर सिताराम येचुरी प्रधानमन्त्री बन्नुपर्छ र काम गरेर सन्देश दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । यसर्थ उहाँ फराकिलो दृष्टिकोण भएको व्यक्ति हुनुहुन्थ्यो ।
हामीले माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने र नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्ने सन्दर्भमा भारतकै विभिन्न शहरमा कमरेड प्रचण्ड, बाबुरामजीहरुसँग वार्ता गरेका थियौं । मैले नै कलकत्ता र पटनामा सिपिआई (एमएल)का सथीहरुलाई भनेर उहाँहरुकै एमएलए क्वाटरमा बसेर कमरेड प्रचण्ड र बाबुरामजीहरुसँग कुराकानी भएको हो । बाँकी ठाउँहरुमध्ये गोरखपुर, लखनउमा र सिलिगुडीमा माओवादीले व्यवस्था गरेको हो । जहाँसम्म नयाँदिल्लीको कुरा छ त्यहाँ हाम्रो दुईपटक भेटवार्ता भएको हो । पहिलो पटक आफ्नै ढंगले भेट भयो ।
दोस्रोपटक मैले प्रचण्डजीलाई नयाँदिल्ली आउन भनेँ । उहाँ दिल्ली आउन तयार हुनुहुन्नथ्यो । उहाँले नेपालमै भेटौँ भनेपछि मैले आफु आउन सक्दिन भनेर कमरेड बामदेव गौतमलाई कुराकानी गर्न पठाएको थिएँ । तर मैले पटक पटक तपाईं आउनै पर्छ, हाम्रो तहमा कुरा गर्नुपर्छ र अरुले गरेर हँदैन भनेपनि उहाँ आउन तयार हुनुभएन । त्यसपछि नारायणकाजी श्रेष्ठजीलाई मैले घरमा बोलाएर उहाँलाई जसरी पनि दिल्ली लिएर आउन भनेर पठाएँ । त्यसपछि नारायणकाजी श्रेष्ठ जी यहाँबाट रोल्पा पुग्नुभयो । मैले गिरीजाबाबुलाई फोन गरेँर भने की “दिल्ली जाउँ र हामी तीन जना नेता बसेर नेपालको शान्ति प्रक्रियाको कुरा एवम् शसस्त्र द्वण्द्वको कुरालाई टुंगो लगाउने काम गरौँ” ।
उहाँले हुन्छ हुन्छ त भन्नुभयो तर फाइनल गर्नुभएन । मैले बुझेसम्म हुन्छ भन्नुको मतलव पहिले नै इण्डियाको स्टावलिसमेन्टलाई खबर गर्ने होला भन्ने सोचें । मैले ताकेता गरिसकेपछि र संभवत यहाँ प्रचण्डहरुसँग कुरा भैसकेपछि गिरिजाबाबु ढीला गरी दिल्ली पुग्नुभयो । त्यो बेलामा भारत सरकारले हामीलाई प्रत्येक बर्षजसो निम्ता दिने गर्दथ्यो । त्यो निम्तामा तोकिएको भन्दा धेरै दिन बस्न सक्ने कुरा थिएन । यहाँ ज्ञानेन्द्रको शासन थियो र अनेक प्रश्नहरु आउने संभवना थियो ।
माओवादीलाई भेट्दा आतंकवादी भेटेको भनेर अनेक प्रश्नहरु गरिन्थे । यीनै सोंचहरुका बीच त्यही मौकामा भेट्नुपर्छ भन्ने थियो । त्यही प्रसङ्गमा मैले प्रचण्डजीलाई भनेको थिएँ की होइन भने म सितारामजीलाई खबर गर्छु । सितारामजीलाई मैले केरलाको व्याक वाटर (समुन्द्रको नजिकको पानी)मा जहाजको व्यवस्था गर्नुस् र प्रचण्डजीसँग त्यसैमा बसेर कुरा गरौंला भनेको थिएँ । पछि त्यति टाढा नजाउँ दिल्लीमै मिलाउँ भनेपछि हामीलाई त्यहाँ बोलाइयो ।
त्यहाँ उहाँहरुले नै व्यवस्था गर्नुभएको थियो । एउटा घरमा दोस्रो तलामा व्यवस्था गरिएको थियो तर गिरिजाबाबु दोस्रो तला चढन नसक्ने अवस्था भएकोले फेरी अर्को घरमा व्यवस्था गरियो । उक्त घरमा हामी भूई तलामै बसेर छलफल ग¥यौँ । यसमा गिरिबाबु, म र प्रचण्डजीले त्यसलाई फाइनल गरेका हौं । यहाँ आइसकेपछि नेपाली काँग्रेस (प्रजातान्त्रिक)का कार्यबाहक सभापति गोपालमान श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँसँग कुरा गर्दा उहाँले भन्नुभो की “शेरबहादुरजीसँग कुरा नगरी हुँदैन” । त्यसपछि हामीले कृष्ण सिटौला सहित छलफल गरेर शेरबहादुरजीको भावना अनुरुप “मौलिक हक” भन्ने शब्द थप्यौं र त्यहीबाट मैले प्रचण्डजीलाई फोन गरेर यो बिषयको जानकारी गराएँ ।
त्यतिबेला पनि कतिपय दलमा त्यसमा हस्ताक्षर गर्ने वा नगर्ने भन्नेमा स्पष्टता थिएन । तर पछि मंसिर ७ गते हामी सबैले हस्ताक्षर ग¥यौं । त्यो भन्दा पहिले नै अरु दल गणतन्त्रको लागि आन्दोलन गर्न तयार नहुँदा नहुँदै पनि हाम्रो पार्टीको नेतृत्वमा गणतन्त्रमा जाने आन्दोलनको शुरुआत मंसीर ४ गते बुटवलमा गरिसकिएको थियो । त्यतिबेलासम्म भारतका कतिपय नेताहरु तथा यहाँ रहेका भारत सहित विभिन्न देशका राजदूतहरु समेत गणतन्त्रको आन्दोलनलाई जनताको समर्थन हुन्छ भन्ने कुरामा विश्वस्त थिएनन् ।
जब बुटवलमा अनेक चुनौतीका बीच जनताको व्यापक उपस्थिति भयो त्यसले देशभर मात्र होइन अन्तर्राष्ट्रिय जगतमा समेत तरङ्ग पैदा ग¥यो । त्यसपछि नेपाली काँग्रेसले समेत भरतपुरमा कार्यक्रम राख्यो । पछि गएर सबै आन्दोलनहरु जोडिए र संयुक्त जनआन्दोलनको रुपमा अघि बढ्यो । यी सबै काममा मूल भूमिका नेपालका राजनीतिक दलहरुको अगुवाई र नेपाली जनताको समर्थन नै हो । सहयोगी भूमिका भारतका कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरुको थियो ।
भारतका मात्र होइन विश्वभरका लोकतान्त्रिक शक्तिहरुको पनि हो । त्यतिबेला नयाँदिल्लीको व्रिटिश कमन वेल्थको अफिसमा म आफै गएर सबै युरोपियन युनियनका मानिसहरुलाई बोलाएर नेपालको लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्न भनेको थिएँ । चीनमा गएर नेपालको लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्न लविङ्ग गरेको थिएँ । भारतमा गएर त्यहाँका नेताहरुलाई पनि आफ्नो टु पिलर पोलिसी परिवर्तन गर्न भनेको थिएँ ।
अन्त्यमा, नेपालको लोकतान्त्रिक आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा प्रमुख भूमिका नेपालका तीन राजनीतिक दलहरुको र जनताको समर्थनको थियो । सहयोगी भूमिका भारतका कम्युनिष्ट तथा लोकतान्त्रिक नेताहरुको रहेको छ । यस्ता नेताहरु मध्ये सिताराम येचुरी एक प्रमुख नेता हुनुहुन्थ्यो । उहाँ नेपाली जनताको अधिकारको निम्ति र नेपालको उन्नतीको पक्षमा उभिने गर्नुहुन्थ्यो ।
बेलाबखत भारतको संसदमा समेत आवाज उठाउने गर्नुहुन्थ्यो । यी सबै कुराहरुलाई हामीले आजको दिनमा संझिनु पर्दछ । हाम्रो आन्दोलन र देशको हितसँग ऐक्यवद्धता जनाउनुभएका सिताराम येचुरीलाई हामी कहिल्यै विर्सन सक्दैनौं र विर्सने छैनौँ । उहाँको दुःखद निधनबाट हामीले अत्यन्तै प्रिय मित्र गुमाएका छौं । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) तथा उहाँ रहेको गठबन्धन समेतलाई अपूरणीय क्षति भएको छ । कमरेड सिताराम येचुरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
(नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सिताराम येचुरीप्रति श्रद्धाञ्जली अर्पण गर्न २०८१ असोज ४ गते साउथ एसिया फाउण्डेशन नेपालद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा व्यक्त विचारमा आधारित)
धन्यवाद ।