काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति बन्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले समिति टुंग्याउनेछ। प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए।
छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरिएको भए पनि आयोगहरूमा पदाधिकारी सिफारिस गर्न सकेको थिएन। उक्त सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो तर्फबाट प्रतिनिधि समेत पठाएको थिएन। संक्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सिफारिस समिति बनाउनुपर्ने कानुनी बाध्यता व्यवस्था छ।