नेपाल समूह विजेता बन्दै साफ यू २० च्याम्पियनसिप सेमिफाइनलमा

Nagarik Sewa 1537+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं। नेपाल समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध २-१ को जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै साफ यू २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे । 

खेलको तीन गोल नै पहिलो हाफमा भएको थियो । खेलको १७ औँ मिनेटमा तेस्रो सेकेन्डमा नेपालका समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । बंगलादेशको कर्नरलाई नेपाली रक्षकले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपरबाट खोस्दै समीरले खाली पोस्टमा बललाई जाली चुमाए । 

यसको १०९ सेकेन्डपछि नेपालका निराजनले घरेलु टिमको अग्रता दोब्बर बनाए । निराजनले १८औँ मिनेटको ५२औँ सेकेन्डमा गोल गरेपछि नेपालले अग्रता २-० मा पुर्‍याएको थियो ।

४२औँ मिनेटमा मिराइजुल इस्लामले गोल गरेपछि बंगलादेशले पहिलो हाफमा स्कोरालाइनलाई २-१ मा ल्यायो । 

१८ यार्ड बक्सभित्र नेपालका रक्षकले इस्लाममाथि नै फाउल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । जसमा इस्लामले कुनै गल्ती गरेनन् । 

यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा नेपाल जितसहित समूह विजेता बनेको हो । नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २-० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । भदौ २ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार