काठमाडौं। मनसुन जन्य विपदबाट प्रभावित १७ हजार १२० जनालाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । सैनिक, सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म प्रभावितहरूको उद्धार गरेका हुन् ।
मनसुनजन्य विपद्मा परेका २२ जना अझै बेपत्ता छन् । बाढी र पहिरोबाट घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।
‘प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर उद्धार गरिएको छ’गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले भने, ‘खोज तथा उद्धारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रूपमा भइरहेको छ ।’
गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेको उनको सचिवालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउन थालिएको छ । घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।
सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपदमा परेका नागरिकहरूको सहजीकरणका लागि कार्यदल खटाएको छ । कार्यदललाई प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने लगायतका कार्यादेश दिइएको छ ।