काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सम्झौता अनुसार राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालका उपकरण मर्मतको काम धमाधम अघि बढाएको छ ।
केन्द्रले हाल तीन अस्पतालसँग सम्झौता गरी मर्मतको कामसँगै सरकारी अस्पतालमा वर्षौँदेखि थन्किएका उपकरण प्रयोगमा ल्याउन थालेका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्र र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बीच गएको भदौ १८ गते उपकरण मर्मत तथा व्यवस्थापनको सम्झौता भए लगत्तै काम शुरु गरेको केन्द्रले वीर अस्पतालमा पाँच भेन्टिलेटर र एउटा सी आर्म मेसिन मर्मत गरिसकेको छ । वीर अस्पतालका अनुसार, ती उपकरण झन्डै सात महिनादेखि मर्मत अभावमा थन्किएका थिए । ती उपकरण मर्मत गर्न आफ्नो टिमलाई तीन दिन लागेको केन्द्रको बायोमेडिकल इन्जिनियरिङ विभाग प्रमुखले जानकारी गराए ।
सी आर्म शल्यक्रियाका क्रममा प्रयोग गरिने एकप्रकारको एक्सरे मेसिन हो । यसबाहेक अक्सिजन प्लान्ट मर्मतका निम्ति अवस्था अवलोकन भइरहेको छ ।