काठमाडौंँ । बिहिवार नेपाल विधार्थी संघमा आवद्ध विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छ्न् ।
लामो समयपछि आएको केन्द्रिय कार्यसमिति कुनै पनि किसिमबाट समावेशीता नरहेको भन्दै विद्यार्थीले सभापतिलाई ध्यानाकर्षण गराएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वबिद्यालयकि कोषाध्यक्ष समेत रहेकी पदमा भुसालको नेतृत्वमा पत्र बुझाइएको हो । 'समावेशीकरण लोकतान्त्रिक शासनको अवधारणा हो । राज्यको मुलधारमा आउन नसकेका वर्ग, समुदायलाई मुलधारमा ल्याउन गरिने प्रयास समावेशीकरण हो । नेपाल विद्यार्थी संघले सदैव समावेशीकरणलाई मध्यनजर गर्दै अघि बढ्नु पर्छ,' भुसालले भनिन् ।
नेविसंघको बिधानमा पनि समावेशी सिद्धान्तको कार्यन्वयन गर्ने कुरालाई लेखीए पनि नेतृत्वले भने विधानविपरित ७११ जनाको कमिटी बनाएको विद्यार्थीहरुले जनाए । यसले लोकतान्त्रिक पद्धतिमा विस्वास गर्ने र विचार मान्ने विद्यार्थीहरुलाई पचाउन कठिन भएको उनीहरुको बुझाइ छ ।
'७११ जनाको कमिटीमा कुनै पनि लिङ्ग र समुदायलाई नियम अनुरुप समावेश गरेको पाइँदैन, यो सरासर गलत हो। हामी लोकतान्त्रिक विचार मान्ने संगठनका विद्यार्थी नेता भएर पनि लोकतान्त्रिक नियम नमान्नु दुस्खद कुरा हो,' भुसालले भनिन् ।
उक्त कार्यक्रममा नेपाल ल कलेजको स्ववियु सदस्य सपना गौतम र विवेचना न्यौपाने, शंकर देव क्याम्पस स्ववियु सदस्य रन्जिता अधिकारी, अस्कल क्याम्पस नेविसंघ नेता श्याम शाह, किरण चौलागाईं, ल क्याम्पस ने बि संघ नेत्री केरिना गहतराज, त्रिभुवन विश्वबिधालय ने बि संघ नेता सौरभ कोइराला, ने बि संघ नेता मोहम्मद अल्ताफ नेपालीको उपस्तिथिती थिए ।