काठमाडौं । कार्यालय समयमा सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाउने तयारी भएको छ । कर्मचारी सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा सरकारले रोक लगाउन लागेको हो ।
कार्यालय समयमा कर्मचारी सेयर किनबेच गर्ने अनलाइन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिष्टम–टीएमएस)मा व्यवस्त हुन थालेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । उजुरीका आधारमा अख्तियारको टालीले सिंहदरबार परिसरलगागत सरकारी कार्यालयको स्थलगत निरीक्षण गर्दा तथ्य फेला पारेपछि कार्यालय समयमा सेयर कारोबार रोक्न सरकारलाई पत्र लेखेको हो ।
नागरिकलाई दिनुपर्ने सेवा प्रभावित हुनेगरी कर्मचारीहरु टीएमएसमा व्यस्त हुन लागेपछि कार्यालय समयमा उक्त कार्य नगर्न नपाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पत्र पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले बताए । ‘हाम्रो काम सरकारलाई पत्र आग्रह गर्ने हो, सोहीअनुसार गत साता नै पत्र पठाइसकेका छौं,’ उनले थपे, ‘रोक लगाउने नलगाउने भन्ने सम्बन्धमा सरकारले नै निर्णय गर्ला ।’
पछिल्लो एक–दुई महिनायता सेयर बजारमा उत्साह देखिएको छ । सोही कारण सरकारी कर्मचारीहरुको पनि सेयर कारोबारमा रुची बढेको हो ।