काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको घोषणा गर्नुभएको छ। उहाँले यही नाममा गत फागुनदेखि राष्ट्रिय अभियान चलाइरहनुभएको थियो ।
काठमाडौंमा मंगलबारबाट सुरू भएको राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको बैठकमा महतोले नयाँ दल दर्ताको घोषणा गर्नुभएको हो। उहाँले केही समयभित्रै यो दल निर्वाचन आयोगमा दर्ता गरिने जानकारी गराउनुभएको छ।
दर्ता प्रक्रियाबारेको निर्णय जारी बैठकले नै गर्नेछ। उक्त पार्टीको अध्यक्ष राजेन्द्र महतो आफै हुनुहुन्छ। उहाँको यो सातौं पार्टी हो। ‘मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यस भन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मांग र मुद्दालाई देश, जनताको अगाडी औपचारिक रुपले अल्टिमेटमसहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै तत्काल नै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले श्री राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ,’ नवघोषित पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय समितिमा अभियानका सदस्यहरू नै रहेका छन्। जसमा सुमन साय्मी, बुद्धछिरिङ मोक्तान, केशव झा लगायत रहेका छन्। यसअघि महतो मधेस सद्भावना परिषद् सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा हुनुहुन्थ्यो।