काठमाडौं । गत वर्षको असोजमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र अफिसियलका लागि खरिद गरिएको ट्रयाक सुटमा घोटाला भएको पाइएको छ। आन्तरिक खेलकुदको महाकुम्भको रुपमा लिइने राष्ट्रिय खेलकुद ०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा भएको थियो। नवौँ राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेदकुद परिषद् (राखेप) ले ११ हजार सेट ट्रयाक सुट, भेष्ट र जुत्तामोजाका लागि प्लस प्वाइन्ट ट्रेडिङलाई ठेक्का दिएको थियो।
राखेपले प्लस प्वाइन्ट ट्रेडिङलाई एक सेटको ११ हजार रुपैयाँका दरले ११ हजार सेटका लागि १२ करोड १० लाख रुपैयाँमा ठेक्का दिएको थियो। त्योमध्ये प्लस प्वाइन्ट ट्रेडिङले ८ हजार सेट मात्र राखेपलाई बुझाएको थियो। अर्थात् ८ करोड रुपैयाँको मात्र ट्रयाक सुट राखेपलाई उपलब्ध गराएको थियो। ठेक्का परेभन्दा ३ हजार सेट कम बुझाउँदा पनि राखेपले सबै अर्थात् ११ हजार सेटको नै भुक्तानी गरेको पाइएको हो।
यसअनुसार ट्रयाक सुट खरिदमा मात्र ३ करोड ३० लाख रुपैयाँ घोटाला भएको छ। यसबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। नवौँ खेलकुदका लागि भनेर प्लस प्वाइन्ट ट्रेडिङले बुझाएको ट्रयाक सुट पनि गुणस्तरहीन रहेको समेत भेटिएको छ। खेलाडीले पाएको ट्रयाक सुट खेल मैदानमा नै च्यातिएको तथा केही खेलाडीले त समयमा नै पाउन नसकेको समेत भेटिएको छ।
राखेपले किट्स ब्याग, निर्णायकहरुको जर्सी र अन्य खेल पोसाकका लागि १५ करोड ३९ लाख ८५ हजार ८ सय २१ रुपैयाँ खर्च गरेको जानकारी दिएको थियो। गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको १० महिनाभन्दा लामो समयपछि राखेप सदस्यसचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय ३९ रुपैयाँ ८ पैसा खर्च भएको जानकारी दिएका थिए। राखेपले २१ वटा शीर्षकमा खर्च भएको उल्लेख गरेको छ।
घिसिङले सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार ७ सय रुपैयाँ आम्दानी भएको जानकारी गराएका थिए। कुल ६० करोड ६१ लाख ५२ हजार ७ सय मध्ये ६ करोड ८२ लाख ४८ हजार ४ सय ६० रुपैयाँ ९२ बाँकी रहेको जानकारी गराएका थिए। नवौँ राष्ट्रिय खेलकुदको असोज २८ गते भएको उद्घाटन र कात्तिक ३ गते भएको समापनमा मात्र २ करोड ७० लाख १८ हजार १ सय ८३ रुपैयाँ खर्च भएको थियो। प्रचारप्रसारका लागि १ करोड २४ लाख ५१ हजार ५ सय १७ रुपैयाँ खर्च भएको राखेपले उपलब्ध गराएको खर्च विवरणमा उल्लेख छ। आतिसबाजीका लागि मात्र ९ लाख खर्च भएको समारोह समितिले जनाएको छ।
नवौँको उद्घाटन र समापनका लागि प्रयोग गरिएको साउन्ड सिस्टम काठमाडौंबाटै पोखरा लगिएको थियो। त्यसका लागि मात्र ६० लाख रुपैयाँ खर्च भएको छ। नवौँको प्रचारमा प्रयोग गरिएका फ्लेक्सहरु पनि काठमाडौँबाट नै पोखरा पुर्याइएको थियो। एनआरएनए टिम, निर्णायक, संघ प्रतिनिधि, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खाना तथा बसोबासमा मात्र १३ करोड १७ लाख ७६ हजार ९ सय ७० रुपैयाँ राखेपले खर्च गरेको थियो। तर, खेल आयोजनाका लागि भने सम्बन्धित संघलाई २ लाख रुपैयाँ छुट्याइएको थियो। अधिकांश खेलका लागि त्यो रकम पर्याप्त हुन नसकेको संघका पदाधिकारीले गुनासो उति बेला नै गरेका थिए।
खेल सामग्रीमा २ करोड खर्च भएको र भीभीआईपी भीआईपी पदाधिकारी तथा कर्मचारी दैनिक तथा भ्रमण भत्ता र खाना खाजामा १ करोड २८ लाख ४८ हजार ८० रुपैयाँ खर्च गरेको थियो। खेल स्थल निर्माण तथा खेल सञ्चालन प्राविधिक सामग्री र खेल सामग्री ढुवानीका लागि १ करोड २२ लाख ७४ हजार २ सय ३५ रुपैयाँ खर्च भएको बताइएको छ।