भारतको ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा सामुद्रिक आँधीको प्रभाव शुरु

Nagarik Sewa 1537+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

एजेन्सी । भारतको ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा सामुद्रिक आँधी दानाको प्रभाव शुरु भएको छ । ओडिशा र पश्चिम बंगालमा गएरातिबाट आँधीले विध्वंश मच्चाउन सुरु गरेको हो । स्थानीय प्रशासनले झण्डै साँढे १२ लाख मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको बताएको छ । समुद्री छाल तटीय क्षेत्रमा प्रवेश गरेको छ भने तीव्र हावा पनि चलिरहेको छ ।

प्रतिकुल मौसमका कारण तीन सयभन्दा बढी उडान तथा ५ सय ५५ रेल सेवा पनि रद्द गरिएको छ । बंगालमा माछा मार्ने काममा खटिएको तीन वटा डुंगा पल्टिँदा १६ जना माझी बेपत्ता भएको जनाइएको छ ।

ओडिसा र पश्चिम बंगालमा तीन दिनका लागि विद्यालय र कलेजहरु बन्द गरिएका छन् । आँधीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि भारतीय वायु सेना, जलसेना लगायत विपत उद्धार टोली परिचालन गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागले आँधीका कारण ओडिशा र पश्चिम बंगालमा तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान गरेको छ । यसैबिच दाना आँधीको प्रभाव नेपालका केही स्थानमा पनि देखिने भएको छ । बंगालको खाडीमा विकसित चक्रवात दानाको आंशिक प्रभाव कोशी प्रदेशमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार