काठमाडौं। सभामुख देवराज घिमिरेले संघीय संसद्को हिँउदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने बताउनु भएको छ। राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले दुवै सदनको चालु अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुने संसदलाई जानकारी गराउनुभयो।
मन्त्रिपरिषद्को २०८०-१२-३० को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन वैशाख २ गते आइतबार राति १२ बजेबाट अन्त्य गरेको छु,’ राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भन्नुभयो।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले जरुरी विषयमा मात्रै संसद्मा पेस गर्नेगरी सहमति भएको थियो। सोही अनुसार सभामुख घिमिरेले विपक्षी दलहरूलाई समेत विरोध नगर्न आग्रह गर्नुभएको थियो।