एजेन्सी । युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको खुलेको छ। रूससँग लामो समयदेखि युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ। अहिलेसम्म युक्रेनले कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था अल्जजिराले जनाएको छ।
कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन्। २८ वटा गाउँ युक्रेनीको कब्जामा रहेको, १२ जना नागरिकको मृत्यु र एक लाख २१ हजार नागरिक विस्थापित भएको ब्रिफिङ गभर्नरले गरेका छन्।पुटिनले भने यसको उचित जबाफ फर्काउने बाचा गरेका छन्। कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई त्यस क्षेत्र छाड्न अनुरोध गरेको छ। त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको छ।
बेलगोरोडका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले सोमबार टेलिग्राममा लेख्दैसुरक्षाका लागि स्थानन्तरण गर्न भनेका हुन्। युक्रेनी सेना प्रमुख ओलिक्सान्द्र सिर्स्कीले कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा रहेको बताएका हुन्। युक्रेनले अहिले सबैभन्दा अब्बल सैनिकहरू प्रयोग गरी रूसको क्षेत्रमा पठाएको बताइएको छ। युक्रेनले रूसको कुर्स्क क्षेत्रभित्र पसेर किन गर्यो हमला?
युक्रेनले रूसको कुर्स्क क्षेत्रभित्र पसेर विगत छ दिनदेखि गरेको हमलाले रूसका जनता झस्किएका छन् भने भ्लादिमिर पुटिनलाई अप्ठ्यारो पारेको छ। पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि नै युद्ध नभनेर विशेष सैन्य कारबाही भनिरहेका छन्। युक्रेनसँग युद्ध भइरहेको भन्नेलाई जेल हालेका छन्।
तीन दिनमा युक्रेन कब्जा गर्ने योजनासहित आक्रमण गरेको रूसले असफलता बेहोरे पनि लामो समयसम्म छिटपुट ड्रोन आक्रमण बाहेक रूसी भूमिमा हमला नभएकाले जनतालाई खासै फरक परेको थिएन। तर गएको मंगलबार युक्रेनी सेना रूससँगको उत्तर पूर्वी सीमा पार गरी कुर्स्क क्षेत्रमा पसेर धमाधम गाउँ-बस्तीहरू कब्जा गर्न थाले। विदेशी सेना बिना कुनै रोकटोक आफ्नो भूमिमा पसेर विस्थापित हुन बाध्य भएपछि भने जनताले युक्रेनसँग युद्ध नै भएको हो भनेर बुझेका छन्।
साथै गत वर्ष पुटिनविरूद्ध रूसकै निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले विद्रोह छेड्दा जस्तै रूसी सेनाले केही प्रतिरोध गर्न नसक्दा झस्किएका छन्। प्रिगोजिनले जुन २३, २०२३ मा अप्रत्याशित रूपमा विद्रोह गरेपछि उनका लडाकूले तुरून्तै मस्कोभन्दा लगभग ११०० किलोमिटर टाढा रहेको रोस्तोव सहर कब्जा गरेका थिए। युक्रेन युद्धका लागि कमान्ड केन्द्र र हातहतियार तथा अरू सामानको भण्डारका रूपमा रहेको सैनिक कार्यालय कब्जा गरेपछि उनका सैनिक मस्कोतर्फ अगाडि बढेका थिए।
२४ घण्टा पनि नपुग्दै वागनर समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको थियो। लिपेत्स्क क्षेत्र पुगेपछि अचानक सुलहको घोषणा भएको थियो। अहिले पनि युक्रेनी सैनिकले सजिलै रूसभित्र पसेर गाउँहरू कब्जा गरेपछि र दशौं हजार विस्थापित भएपछि फेरि रूसी जनतालाई त्यतिबेलाको याद ताजा भएको छ।
प्रिगोजिनले विद्रोह गरेको केही हप्ताअघि मात्रै ठूलो तामझामसाथ युक्रेनले आफ्नो भूमिभित्रै रहेका रूसी सेनामाथि गरेको प्रत्याक्रमण असफल भएको थियो। सायद त्यसैले यसपालि रूसभित्र पसेर गरेको हमलाबारे धेरै जानकारी युक्रेनले दिएको छैन।
रूसले थाहा नपाउने गरी गरिएको यो आक्रमण धेरै नै गोप्य राखिएको थियो। अमेरिकालाई समेत जानकारी नदिइकन हमलाको योजना बनाइएको बताइन्छ। युक्रेनको हमला कति सफल भयो भन्ने आधिकारिक पुष्टि नभए पनि आफ्नो भूमिमा युक्रेनी सेना पसेको रूसले समेत स्वीकारेको छ। रूस सरकारले युक्रेनी सेना रूसभित्र पसे पनि उनीहरूलाई रोकिएको दाबी गरेको छ। तर युद्धबारे ब्लग लेखिरहेका रूसी नागरिकहरूले नै युक्रेनको हमला रूसका लागि लज्जास्पद भएको लेखिरहेका छन् भनेर पश्चिमा मिडियाले जनाएका छन्। कतिपय ठाउँमा युक्रेनी सेना ३० किलोमिटरभन्दा भित्र पसेको बताइन्छ।
त्यस्तै रूसका कैयौं ट्यांकर, बख्तरबन्द गाडी, अनि दर्जनौं सैनिक मारिएको र दर्जनौं सैनिकलाई बन्दी बनाइएको भनिएको छ। रूस सरकारले बढीमा हजार युक्रेनी सेनाले हमला गरेको भने पनि द गार्डियनले युक्रेनी स्रोतको हवाला दिँदै हजारौंको संख्यामा युक्रेनी सेना परिचालन गरिएको लेखेको छ। युक्रेनले आफ्ना सबैभन्दा अब्बल सैनिकहरूको प्रयोग गरेको बताइन्छ। उता युक्रेनलाई हतियार र गोप्य सूचना दिएर सहयोग गरिरहेका अमेरिका लगायत पश्चिमा राष्ट्रले रूसी भूमि भित्र नछिर्नु भनेकाले रूस भने ढुक्कसँगले बसेको थियो। आफ्ना अब्बल सेना आफूले कब्जा गरेको युक्रेनी भूमिमा लड्न पठाएर सीमा रक्षाका लागि कमसल सैनिक खटाएको थियो। युक्रेनका उत्कृष्ट सेनाले एकै पटक हमला गरेपछि भर्खरै भर्ती भएका कमजोर सैनिकले केही प्रतिरोध गर्न सकेनन्।
रूसी सेनाका संचार उपकरणहरू नचल्ने बनाएर अचानक हमला गरेपछि तुरून्तै अन्तबाट त्यहाँ सेना परिचालन गर्न पनि सम्भव भएन। र रूसले विगत ६ महिना जति लगाएर कब्जा गरेको युक्रेनी भूमिको हाराहारी रूसी भूमि अहिले युक्रेनले दुई-तीन दिनमै कब्जा गरेको बताइन्छ। रूसले अहिले त्यो क्षेत्रतर्फ थप सैनिक पठाएको छ। उता युक्रेन आफै पनि आफ्ना सैनिक धेरै भित्र पसे सुरक्षित नरहने बुझेर अझ भित्र पठाएको छैन।
अरूबेला युक्रेनी हमलाको योजनाबारे पश्चिमा मिडियाले पहिल्यै थाहा पाउँथे। तर यसपटक भने अमेरिकालाई समेत थाहा नदिइकन योजना बनाइएकाले मिडियाले थाहै पाएनन्। धेरैजसो पश्चिमा मिडियाले डोनबास र खार्किभ क्षेत्रमा रूस हावी भइरहेका बेलामा थप सेना त्यता नपठाएर रूसभित्र छिरेर केही फाइदा नहुने जनाएका थिए। तर विस्तारै युक्रेनी हमलाबारे विवरणहरू आउन थालेपछि भने उनीहरू पनि छक्क परेका छन्। युक्रेनी हमलाले दीर्घकालीन फाइदा भए पनि, नभए पनि यो प्रशंसनीय भएको बताइरहेका छन।
रूसभित्र आक्रमण गर्न रोकिरहेको अमेरिकाले मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार रूसी भूमिभित्र प्रयोग गर्न अनुमति दिएको थियो। युक्रेनमाथि आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा सो अनुमति दिएको थियो। तर यसपटक रूसभित्र युक्रेनले सेना नै पठायो भने रक्षा गर्न आइरहेका रूसी सैनिकमाथि पनि अमेरिकी हतियार चलायो। त्यसका बाबजुद युक्रेन आफैले आक्रमण गर्न पाउने र सो हमलामा अमेरिकी हतियारको प्रयोग आफ्नो नीति विपरीत नभएको अमेरिकाले भनेको छ।