काठमाडौं। सत्य घटनामा आधारित फिल्म नमेटिने घाउको पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललगायत फिल्मका मुख्य कलाकारहरु अटाएको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। यसअघिको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई समेटिएको थियो।
भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ुनमेटिने घाउु लाई अभिनेता रमित ढुंगानाले निर्माण एवं निर्देशन गरेका हुन्। फिल्म एसिड सर्भाइभरहरूको वास्तविक जिवनीमा आधारित छ। एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई यसमा समेटिएको छ। फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ। रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई निरज कंडेलले छायांकन, बनिश शाहको सम्पादन छ।
फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार पनि रहेका छन् भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय छ। प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपालका साथमा सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय छ। प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय हेर्न सकिने जनाइएको छ।