काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने अन्तिम म्याद बुधबारसम्म ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गरी १५ दिनभित्र आवेदन माग गरेको थियो ।
चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, चलचित्र निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिएका थिए ।
आवेदन दिएकाहरूको योग्यता परीक्षणपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गर्ने छ । त्यस्तै, अन्तर्वार्ताबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्ष पदमा नियुक्त गर्नेछ ।
अहिलेको चलचित्र ऐनअनुसार बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । आवेदनको सूचनामा पनि दुई वर्षकै कार्यकाल भनेर उल्लेख थियो । प्रस्तावित चलचित्र ऐनमा भने अध्यक्षको कार्यकाल चार वर्ष प्रस्ताव गरिएको छ ।