नेकपा एसको महाधिवेशनः अध्यक्षमा चुनाव भए माधव नेपाललाई दुईतिहाई मत

Nagarik Sewa 1537+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं  l असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुन लागेको नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय  महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल नै दोहोरिन खोज्दा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि अध्यक्षकै लागि कसरत गरिहेका थिए।  महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको चर्चा र नेताहरुको दौडधुप पनि तीव्र बनेको छ।

नेता भुसालले पनि अध्यक्षको दाबेदारी छोडेर नेपाललाई सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खुला गर्ने नेपाल पक्षका नेताहरुको दाबी छ। महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागिसकेपछि आफू कमजोर रहेको मूल्यांकन गरेर खनाल अध्यक्ष बन्ने दौडबाट पछि हटेका छन्।

पार्टी स्रोतका अनुसार ७५ प्रतिशत प्रतिनिधि नेता नेपालकै पक्षमा छन्। कोशी प्रदेशमा नेता खनाल पक्षका ५० प्रतिशत प्रतिनिधि देखिएका छन्। त्यहाँ अध्यक्ष नेपालका ४० र भुसालका १० प्रतिशत प्रतिनिधि रहेका छन्।

मधेशमा अध्यक्ष नेपालका ८५ खनालका १० र भुसालका ५ प्रतिशत तथा कर्णालीमा अध्यक्ष नेपालका ५५ तथा खनाल र भुसालको पक्षमा ४५ प्रतिशत प्रतिनिधि खुलेका छन्। बागमती प्रदेशमा अध्यक्ष माधवकुमार नेपाल समूहका ६०, सम्मानित नेता झलनाथ खनालका पक्षमा २० र महासचिव घनश्याम भुसालका पक्षमा पनि २० प्रतिशत प्रतिनिधि छन्।

यस्तै गण्डकीमा अध्यक्ष नेपाल पक्षमा ६० नेता खनाल समूहका १० र महासचिव भुसालका ३० प्रतिशत प्रतिनिधि छन्। सुदुरपश्चिममा अध्यक्ष नेपालका ५० तथा नेता खनाल र भुसालका गरी ५० प्रतिशत प्रतिनिधि हुँदा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने १३० भन्दा धेरै प्रतिनिधिमा अधिकांश नेता नेपाल पक्षका रहेका छन्। त्यहाँबाट ३५ जना मात्रै नेपाल इतरका छन्।

 ‘पदाधिकारी चयनको लागि चुनाव गराउने पक्षमा नेता कार्यकर्ताहरु देखिएका छैनन्, अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्‍याउने धेरैको चाहना रहेको बुझेको छु’ नाम उल्लेख गर्न नचाहेका ती नेताले भने l हाल महासचिव समेत रहेका भुसाल कतै अवशर नपाएपछि समाजवादीका आएको र पुन अवशर पाउँदा पार्टी नै फुटाएर जानसक्ने कतिपय नेताको तर्क छ ।

समाजवादीमा १२५ जिल्ला सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि छानिएका हुन्। एमालेबाट अलग भएको ३ वर्ष पुग्नै लाग्दा नेकपा एसको महाधिवेशन हुन लागेको हो।

महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ । ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार ८०० प्रतिनिधि छानिएको हो। महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि थपिनेछन्। 

नेकपा एसले महाधिवेशनका लागि गत असार ५ गते देशैभरबाट प्रतिनिधि छनोट गरिसकेको हो।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार