काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ लाई २१४ रनको लक्ष्य दिएको छ। खेलमा नेपाल ‘ए’ ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१३ रन बनाएको हो।
नेपाल ‘ए’ का लागि आरिफ शेखले अर्धशतकीय पारी खेले। ४।५ ओभर सकिँदा ३ विकेट गुमाएर धर्मराएको नेपाली ब्याटिङलाई आरिफले सम्हाले। आरिफ ४८ बलले ७ चौका र ६ छक्का प्रहार गर्दै ९३ रनमा अविजित रहे। उनले २९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
रासिद खानले २४, कमल सिंह ऐरीले १९, बसिर अहमद १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए। नेपाल ‘ए’ का लागि ३ खेलाडीले दोहोरो अंक छुन सकेनन्। लोकेश बमले ८, देव खनालले ६ र नारायण जोशी १ रनमा आउट भए। आयरल्याण्ड ‘ए’ का लागि फिओन ह्याण्डले २ विकेट लिए।