महानगरले ५० वटा पेट्रोलपम्पका शौचालयलाई निशुल्क रूपमा सञ्चालन गर्न सरसफाइ सामग्री उपलब्ध गराउने

Nagarik Sewa 1537+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५० वटा पेट्रोलपम्पका शौचालयलाई निशुल्क सार्वजनिक रूपमा सञ्चालन गर्न सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । शौचालय निशुल्क प्रयोग गर्न दिनेबारे महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी एकाइ र बागमती पेट्रोलियम डिलर एसोसिएसनबीच शुक्रबार सम्झौता भएको हो । 

सम्झौतापत्रमा एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्य र एसोसिएसनका तर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताबमोजिम महानगरभित्रका ५० वटा पेट्रोलपम्पका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न निशुल्क उपलब्ध हुनेछन् । यसबापत महानगरपालिकाले सरसफाइका गर्ने र दुर्गन्ध हटाउने सामानसहित निशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ । महानगरले उपलब्ध गराउने सामानमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोरम्याट, डिटोल, रुमाल, रुम स्प्रे, डस्टबिन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रसलगायत छन् । 

एकाइका प्रमुख बज्राचार्यका अनुसार चालू आर्थिक वर्षमा तीन सयवटा निशुल्क सार्वजनिक शौचालय थप गरिने लक्ष्य छ । यही क्रममा एसोसिएनसँग सम्झौता गरिएको हो । सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरूले शुल्क लिन वा शौचालय प्रयोग गरेबापत कुनै सामान खरिद गर्न करकाप गर्न वा प्रोत्साहन गर्न पाउनेछैनन् । सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाइनेछैन । शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत–सम्भार र निकासाको व्यवस्था पम्पहरूले गर्नुपर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार