सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न

Nagarik Sewa 1537+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

काठमाडौं । शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो ।

आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव गेलालले शहरी विकास मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको बताउनुभयो । जसअनुसार सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको सचिव गेलालले बताउनुभयो । विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको उहाँको भनाइ छ ।

प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको गेलालले बताउनुभयो । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भनेअनुसार दुई वटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको जानकारी दिनुभयो ।

गेलालले सय दिनको बीचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेलधुरा उप क्षेत्रीय अस्पताल भवन, डडेलधुरा, इसिवु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुंगा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सात वटा सम्पन्न गरेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार