काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित हुनुभएको छ । बुधवार भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाउनुभयो।
२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी हुनुभएको थियो । तत्कालीन नेकपाबाट निर्वाचित उहाँ नेकपा विभाजन भएर माओवादी केन्द्र र एमाले बन्दा एमालेमै रहनुभएको थियो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उहाँले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गर्नुभएको थियो ।
अनेमसंघमा रहँदा उनी जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेम संघ जिल्ला सचिव भएर समेत काम गरेकी थिइन् ।