काठमाडौं। सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई नयाँ वर्ष (आगामी वैशाख १ गते) देखि चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाएको छ । ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ,’ एसएसपी खत्रीले भन्नुभयो।
नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ।
परिषद्का अध्यक्ष भवीश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नुहुने छ।
ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन्। रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन्।
आचारसंहिताअनुरूप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ। मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने, यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ।