काठमाडौँ । विश्व पर्यटन दिवसको अवसर पारेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई स्वागत गरेको छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई खादा लगाएर स्वागत गरेका हुन ।
साथै समितिले आज बौद्धनाथ महाचैत्य अवलोकनका लागि पुगेका प्रथम दश जना पर्यटकहरुलाई प्रवेश निशुल्क समेत गरेको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयाे । स्वागत कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु रग्वा शेर्पा, सैलेश श्रेष्ठ, सुरज रुम्बा, पशुपतिनाथ (श्याम) खतिवडालगायतको उपस्थिति रहेको थियो ।