काठमाडौं । मणि थापा एमालेबाट पदमुक्त भएका छन्। नेकपा (एमाले) को स्थायी कमिटी रहेका उनी पदमुक्त भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनी २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए। २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो।
‘उहाँको पद रिक्त भएकाले पूर्ति गरिसकिएको छ,’ गौतमले भने बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले स्थायी कमिटीको दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिसकेको छ। न्यौपाने एकीकृत समाजवादी छोडेर एमालेमा आएका थिए। श्रेष्ठ पोलिट्ब्यूरोबाट बढुवा भएका हुन्।
यसअघि स्थायी कमिटी सदस्य रहेका गुरू बराल उपाध्यक्ष मनोनीत भएपछि उनको स्थान खाली भएको थियो। अर्को मणि थापा पद मुक्त भएपछि ठाउँ खाली भएको हो। एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन्। मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए। प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उनी गएनन्।