लामो समयदेखि विद्युत् महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद

Nagarik Sewa 1537+ समाचार ( )
१ असार २०८१, शुक्रबार

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने वा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । 

प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका ९ वटै जिल्लाका ३ हजार ७ सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए ।

उनका अनुसार चालु आवको सो अवधिमा रु ६ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर रु ४ करोड ५० लाख महसुल असुल गरिएको छ । लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताए ।

सुदूरपश्चिमका ९ जिल्लाका ग्राहकबाट रु ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन विच्छेद गरिएको प्राधिकरणले जनाएको छ ।  नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ३ हजार ७ सय १२ ग्राहकमध्ये दुई हजार ५ सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् भने लाइन विच्छेद गरिएका एक हजार १ सय ५० ग्राहकले अझै लाइन जडान नगरेको निर्देशक चन्दले जानकारी दिए ।

सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुदूरपश्चिममा हालसम्म तीन लाख ६७ हजार दुई सय ७० ग्राहक छन् । 

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा विस्तार हुन नसकेका स्थानमा ठेक्का सम्झौता भएर विद्युतीकरण विस्तारको काम भइरहेकाले हरेक वर्ष प्राधिकरणका ग्राहकको सङ्ख्या पनि बढ्दै गएको निर्देशक चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै