काठमाडौँ । नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत परीक्षा, नवप्रवर्तन, अनुसन्धान, युवा परिचालन आदि विषयमा अनुभव आदानप्रदान र सहकार्य बढाउने सकिने बताइएको हो । अध्यक्ष जेरीले सामुदाय र नागरिक क्षेत्रको सहकार्यका आधारमा शिक्षाको स्तरलाई माथि उठाउन र उच्च शिक्षाका क्षेत्रमा पनि नयाँ नयाँ सम्भावना खोज्न सकिने बताउनुभयो ।
नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल
२६ पौष २०८०, बिहीबार
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षालाई कुन ढाँचामा सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेबारेमा समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरिरहेको जानकारी दिनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विदेशी विद्यार्थीका लागि समेत आफूहरुले छात्रवृत्ति दिएको जानकारी दिँदै नेपाललाई शैक्षिक हब बनाउन प्रयास भइरहेको जनाउनुभयो ।
सङ्घीय संसद्, सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सचिवालयले पुस्तकालयलाई व्यवस्थित बनाउन र स्रोत केन्द्र सञ्चालन गर्न तयारी गरिरहेको अवगत गराउनुभयो । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपालमा उत्कृष्ट उच्च शिक्षा दिलाउन यहाँका कलेज सक्षम रहेको स्पष्ट गर्दै विदेशका अशल अभ्यासलाई अनुशरण गरिने बताउनुभयो ।