काठमाडौं। धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका ३ जना उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत रोकिएको छ । शुक्रबार सिंहदरबारमा हुने भनिएको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।
तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो । तर,सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न नसकेको कारण पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिमा बाटो खुला गरेपछि यी तीन जना उम्मेदवारलाई आज अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको हो ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएपनि सार्वजनिक निष्कासन लगायत बोर्डका धेरै कामहरु प्रभावित भएका छन् ।