काठमाडौं। शुक्रवार बिहान ललितपुरमा महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनै पर्छ।’’सशक्तीकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘सशक्तीकरण आजको दुनियाँमा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिक रूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’’
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्त्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ।’’