ठुलो परिणाममा कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

काठमाडौं। ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए । 

उनलाई काठमाडौं २६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । 

नसिमुद्दिनले उक्त लागु औषध कोकिनसहितका जुसका बट्टाहरू काठमाडौं ९ पिङ्गलास्थान स्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । ओबडोफुला साउन १ गते नै कतार एयरलाइन्सबाट नेपाल आएका थिए । 

उनलाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागु औषध कोकिनका क्याप्सुलहरू कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर नेपाल ल्याएको बयान दिएका छन् । होटल पुगेपछि उनले कोकिनका क्याप्सुलहरू जुसको बट्टाहरूभित्र लुकाएको खुल्न आएको हो ।

बरामद गरिएको कोकिनको तौल १ केजी १०० ग्राम रहेको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने  प्रहरीले जानकारी दिएको छ ।

दुवै जनामाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार