काठमाडौं। ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो ।
नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । पहिलो बल डट खेलेका रोहितले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा दुई रन लिन खोज्दा आकाश चन्द आउट भएपछि नेपाललाई जितका लागि तीन बलमा १२ रनको आवश्यकता थियो । चौथो बलमा ब्याटिङका लागि क्रिजमा आएका सागर ढकालले एक रन लिँदै रोहितलाई स्ट्राइक दिएका थिए । तर, पाँचौ बलमा रोहितले रन जोड्नन् । अन्तिम बल पनि डट भएपछि नेपाल १० रनले पराजित भएको हो ।
नेपालका कप्तान रोहितले ७१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । गुल्सन झाले ११ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । लोकेश बमले १७ र आरिफ सेखले १२ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।