काठमाडौं । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपाल एसीसी प्रिमियर लिगमा समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे । यी दुईले पहिलो विकेटका लागि ५.३ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।