आजदेखि महाकुम्भ मेला प्रारम्भ

Nagarik Sewa 1537+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

काठमाडौं। सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

आगामी २८ वैशाखसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरूप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । 

मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सहअध्यक्ष कार्कीले बताए । ‘सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत २ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसिटिभीको सहायताले सहभागीको सङ्ख्या गणना गरिनेछ,’ उनले भने । 

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा ४ सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै, मेला क्षेत्रमा १ सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ । 

कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ । मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले सात्त्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताए । रासस 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार